बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ ।
चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ आइपुग्नुभएका प्रधानमन्त्री दाहालले चीनियाँ राष्ट्रपति सीसँग द्विपक्षीय हितका विविध विषयमा खुला र स्पष्टरूपमा छलफल गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
“वार्तामा दुवै नेताबीच क्षेत्रीय स्थिरता, शान्ति र समृद्धिका लागि सबै क्षेत्रीय शक्तिबीच साझा सहकार्य जरुरी रहेको कुरामा सहमति रह्यो । दुवै नेताबीच एकअर्काको चासो र संवेदनशीलता बुझेर आपसी सहकार्य अझ सघन बनाउने विषयमा छलफल भएको छ”, प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । नेपालको आर्थिक, सामाजिक विकासमा सहकार्य र सहयोग गर्न चीन तयार रहेको सन्देश राष्ट्रपति सीले दिनुभएको बताइएको छ ।
प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच एक्लाएक्लै र प्रतिनिधिमण्डलसँग सामूहिकरूपमा समेत गरी एक घण्टा लामो छलफल भएको थियो । शान्तिपूर्ण सहअस्तिस्वको पाँच सिद्धान्तका आधारमा आपसी सम्मान, समर्थन तथा समान अस्तित्वका साथ अघि बढ्ने विषय छलफलमा उठेको जनाइएको छ ।
चीनका राष्ट्रपति सीले भूगोलका आधारमा ठूलो–सानो देशको कुनै भेदभावबिना समान र सहअस्तित्वका साथ अत्यन्तै नजिकको सम्बन्ध अघि बढाएको स्मरण गर्नुहुँदै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप उचाईमा पुग्ने बताउनुभएको थियो ।
प्रधानमन्त्री दाहालले चीन र नेपालबीच विगत लामो समयदेखिको ऐतिहासिक सम्बन्धको चर्चा गर्नुहुँदै अहिलेको परिस्थितिमा सीले अघि सारेका नवीनतम् अवधारणा यस क्षेत्रको शान्ति र प्रगतिका लागि महत्त्वपूर्ण रहेको बताउनुभयो । उहाँले एक चीन नीतिप्रतिको प्रतिबद्धता व्यवहारबाटै पुष्टि गरेको उल्लेख गर्नुहुँदै नेपालले स्वतन्त्र र असंलग्न परराष्ट नीति अङ्गिकार गरेको र यो वा त्यो नामका कुनै पनि सैन्य रणनीतिक योजनामा सामेल हुन नसक्ने प्रष्ट पार्नुभयो ।
प्रधानमन्त्री दाहालले चीनले अघि सारेको ‘वेल्ट एण्ड रोड’ अवधारणाले नेपालको पूर्वाधार विकासमा महत्त्वपूर्ण परिवर्तन ल्याउन सक्ने भएकाले यसअघि नै नेपालले उक्त अवधारणामा सहमति जनाइसकको स्मरण गर्नुभयो । चीनको विकासले एसिया क्षेत्रकै विकासमा सहयोग पुग्ने अपेक्षा प्रधानमन्त्री दाहालले गर्नुभयो ।
राष्ट्रपति सीले प्रधानमन्त्री दाहालसँगका यसअघिका भेटको चर्चा गर्नुहुँदै आफू राष्ट्रपति हुनासाथ दक्षिण एसियाबाट पहिलो नेताका रूपमा चीनमा स्वागत गरेको स्मरण गर्नुभयो । उहाँले यस किसिमका छलफलले दुई देशबीचका सम्बन्ध र विश्वासलाई अझ सुदृढ गर्ने बताउनुभयो ।
त्यस्तै प्रधानमन्त्री दाहाल भोलि आइतबार चीनको राजधानी सहर बेइजिङ आउनुहुने कार्यक्रम छ । उहाँ आइतबार बिहान ११ः१० बजे आइपुग्ने कार्यक्रम रहेको छ । बेइजिङमा भोलि हुने नेपाल–चीन बिजनेस समिटको कार्यक्रमलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । चीनस्थित नेपाली राजदूतावासको समन्वयमा नेपाल उद्योग वाणिज्य महासङ्घ र चिनियाँ उद्योगी व्यवसायीहरूको संस्था सिसीपिआइटीले सो सम्मेलनको आयोजना गरेका छन् ।
उक्त लगानी सम्मेलनमा नेपाल र चीनका एक सयभन्दा बढी उद्योगी–व्यवसायी सहभागी रहने जनाइएको छ । उक्त सम्मेलनका क्रममा नेपाल र चीनबीच लगानीका क्षेत्र पहिचान गर्नुका साथै नेपालमा लगानी प्रवर्द्धनका विषयमा आवश्यक छलफल हुनेछ । आइतबार नै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले प्रधानमन्त्री र चीन भ्रमणमा रहेको नेपाली प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्नुभएको रात्रिभोजमा सहभागी हुनुहुने कार्यक्रम रहेको छ ।
त्यस्तै सोमबार प्रधानमन्त्री दाहालले चीनको नेसनल पिपुल्स कांग्रेसको स्थायी समितिका अध्यक्ष चाओ लेजीसँग भेटवार्ता गर्नुहुने छ । त्यस्तै सोमबार नै प्रधानमन्त्री दाहालले आफ्ना चिनियाँ समकक्षी चिनियाँ प्रधानमन्त्री लि छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने छ । सोही दिन नेपाल चीनका विविध सहयोग सम्झौतामा पनि हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।
उक्त द्विपक्षीय भेटवार्ता र दुई देशबीचको सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि प्रधानमन्त्री दाहाल चीनको छोङछिङ्ग महानगरपालिकामा चीनले कृषि र औद्योगिक क्षेत्रमा गरेको विकासको अवलोकन गर्नुहुने कार्यक्रम रहेको छ । उक्त महानगरमा आधुनिक कृषि प्रणालीका साथै चीनले अपनाएको आधुनिक खेती प्रणालीबारेमा प्रधानमन्त्रीले जानकारी लिनुहुने कार्यक्रम रहेको छ ।
त्यसपछि प्रधानमन्त्री दाहाल नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जानुहुने छ । तिब्बतमा रहँदा पनि उहाँले त्यहाँका उच्चपदस्थ अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहाल आफ्नो प्रतिनिधिमण्डलसहित यही असोज १३ गते नेपाल फर्कनुहुने कार्यक्रम छ ।