विश्वकप छनोट : नेपाल ओमानसँग पाँच रनले पराजित

NewsBankNepal Banner Headline with Image , MainNews/प्रमुख समाचार , News/समाचार , Sports/खेलकुद , ४ महिना अगाडि

काठमाडौँ, १६ कात्तिक । आइसिसी टि २० विश्वकप एशिया क्षेत्रको फाइनल छनोटअन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा नेपाल ओमानसँग पाँच रनले पराजित भएको हो । यसजितसँगै ओमान समूह ए को विजेता तथा नेपाल उपविजेता बन्यो ।

ओमानले दिएको १४६ रनको चुनौती पछ्याएको नेपाल निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै एक सय ४० रनमा समेटियो । नेपालका विवेक यादवले २४ बलमा ५ छक्कासहित सर्वाधिक ३९ रन बनाए । त्यस्तै कुशल भुर्तेलले २६ रन बनाए भने करण केसीले १५ रन जोडे । नेपालले सुरुआतदेखि नै लगातार विकेट गुमाएको थियो ।

आसिफ शेखले पाँच रन जोड्दै आउट भए भने सोमपाल कामी, कप्तान रोहितकुमार पौडेल र सन्दीप जोराले समान १२÷१२ रन जोड्दै आउट भए । त्यस्तै गुलशन झाले ३ रन जोडे । ओमानका विलाल खानले तीन किकेट झारे भने अकिब इलयास, सकिल अहमद र मेहरान खानले समान दुई÷दुई विकेट लिए । त्यस्तै कप्तान जिशान मकसुदले एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिले व्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ४५ रनको योगफल बनाएको थियो । ओमानका लागि जिशान मकसुदले सर्वाधिक ३२ रनको योगदान दिए । उनले २६ बलमा १ चौका र ३ छक्कासहित ३२ रन बनाएका हुन ।

त्यस्तै नसिम खुसीले २५ रन बनाए भने प्रतीक अथभलले २४,सकिल अहमदले २२ तथा आयान खानले १८ रन बनाए । नेपालका लागि करण केसीले तीन विकेट लिए भने सोमपाल कामी र सन्दीप लामिछानेले समान दुई÷दुई विकेट लिए । त्यस्तै गुलशन झा र अभिनाश बोहोराले समान एक÷एक विकेट लिए । नेपालले भोलि हुने सेमिफाइनल खेलमा समूह बी को विजेता युएईसँग खेल्नेछ ।