भक्तपुरको ऐतिहासिक बिस्केट जात्रा सुरु

NewsBankNepal Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ महिना अगाडि

भक्तपुर, २७ चैत । आठ रात नौ दिनसम्म भव्य रुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्रा मंलबारदेखि भक्तपुरमा सुरु भएको छ । जात्राको पहिलो दिन आज तौमढीस्थित भैरवको रथमा पूजा गर्ने स्थानीयको बिहानदेखि भीड लागेको छ ।

भैरवको रथमा पूजा खुल्ला गरेर जात्राको शुभारम्भ गरिएको गुठी संस्थान कार्यालयका प्रमुख खिमा वलीले जानकारी दिनुभयो । तान्त्रिक विधिपूर्वक गुठी कार्यालयले ल्याएको सरकारी पूजा गर्दै भैरवको रथमा भैरवनाथ र बेताल बिराजमान गराई हनुमान ढोकाबाट राजाको प्रतीकस्वरुप ल्याइएको खड्ग, तरवार र निशान राखेपछि विधिपूर्वक रथ तानेर जात्रा सुरु भएको थियो । विगतका वर्षहरुमा अपराह्न ५ बजेपछि रथ तान्न सुरु गरी राति अबेरसम्म टौमढीबाट रथलाई माथि र तल तानेर गःहिटी पुर्याउने प्रचलन भए पनि यस वर्ष भने भैरवनाथको रथ अपराह्न ५ बजेसम्म गःहिटीमा पु¥याई पहिलो दिनको जात्रा सम्पन्न भएकाे छ ।

विगतका वर्षहरुमा रथमा जथाभावी मानिस बस्ने गरे पनि यस वर्ष भने रथमा जुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिबाहेक अन्य व्यक्ति चढ्न नदिने उहाँले बताउनुभयो । आजको जात्रा सम्पन्न भएपछि चैत ३० गते ल्यासिंखेलमा गुठी पूजासहित सबै प्रक्रिया पूरा गरी अपराह्न ५ बजे लिङ्गो उठाइने जात्रा हुनेछ । वैशाख १ गते अपराह्न ५ बजेभित्र लिङ्गो ढाल्ने र वैशाख ५ गते पनि अपराह्न ५ बजेसम्म रथ तानिसकेर जात्रा सम्पन्न गर्ने गरी तयारी गरिएको उहाँले बताउनुभयो । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बिस्केट जात्रामा हूलदङ्गा हुन नदिन र शान्तिपूर्ण रुपमा जात्रा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गरिएको बताउनुभयो ।