ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुला

NewsBankNepal Banner Headline with Image , Latest Update , News/समाचार , ३ महिना अगाडि

काठमाडौँ, १ वैशाख । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेल र दरबारमार्ग क्षेत्र आजदेखि २४सै घण्टा खुला भएका छन् । ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले आज साँझ ठमेलको त्रिदेवीमार्गमा आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले २४सै घण्टा बजार सञ्चालनको शुभारम्भ गर्नुभयो ।

कार्यक्रममा गृहमन्त्री लामिछानेले ठमेल र दरबारमार्गको पर्यटनलाई चलायमान बनाउँदै देशको अर्थतन्त्रलाई सहयोग पु¥याउनका लागि २४सै घण्टा बजार खुला गरिएको बताउनुभयो । “ठमेल र दरबारमार्ग क्षेत्रको सुरक्षामा कहीँकतै कमी हुनेछैन । प्रहरी प्रशासनसँगै यस क्षेत्रलाई सुरक्षित बनाउने दायित्व नागरिकको पनि उत्तिकै हो ।

गृहमन्त्री लामिछानेले ठमेललाई ठमेलजस्तो र दरबारमार्गलाई दरबारमार्गजस्तो बनाउन प्रहरी प्रशासनसँगै स्थानीय जनसहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटन र ठमेल पर्यायवाची भएकाले यसलाई जोगाउन सबै लाग्नुपर्ने उहाँको भनाइ छ । गृहमन्त्री लामिछानेले जुनसुकै सहर सुरक्षित भएको महसुस गराउन आम नागरिक निर्धक्क भएर हिँड्ने वातावरण बनाउन आवश्यक रहेको बताउँदै ठमेल र दरबारमार्गलाई निर्धक्क रूपमा हिँड्ने वातावरण निर्माणमा सरकार लागेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले २४सै घण्टा ठमेल र दरबारमार्गलाई सञ्चालन गरेर विश्व जगतलाई सकारात्मक सन्देश दिन खोजिएको बताउनुभयो । उहाँले उक्त अभियानले देशको अर्थतन्त्रमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ–२६ का वडाध्यक्ष ख्यामराज तिवारीले ठमेल र दरबारमार्ग क्षेत्रलाई २४सै घण्टा सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयबाट जारी भएको आचारसंहितालाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभयो ।

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोना महामारीपछि शिथिल रहेको ठमेल र दरबारमार्ग क्षेत्रको आर्थिक अवस्थालाई चलायमान बनाउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।