२८ वर्षीय सुजन वाग श्रेष्ठले छेडे जिब्रो

NewsBankNepal MainNews/प्रमुख समाचार , News/समाचार , ३ महिना अगाडि

भक्तपुर, २ वैशाख। बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरुको भीड बढ्दै गयो । हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरुको भीड निकै बाक्लो भयो ।

बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो १ बजेसम्म मानिसहरु खचाखच भरिएका थिए । दिउँसो २ बजे बासको चिम्टी बजाउँदै एकहुल मानिसहरु हातको साङ्लो बनाएर जिब्रो छेड्ने पाँचो गणेश मन्दिर क्षेत्रमा आएपछि सबैको ध्यान त्यतै केन्द्रित भयो । बीचमा जिब्रो छेड्न तयार भएका २८ वर्षीय सुजन वाग श्रेष्ठ बोडेका सबै देवीदेवताको मन्दिरमा पुगेर पुजा गर्दै आइपुगे । उहाँलाई बोडेबासीले जयजयकार गरे । त्यसपछि श्रेष्ठ पाँचो गणेशको दक्षिण फर्केको पाटीमा बनाइएको मञ्चमा उक्लिए । यसअघि १२ पटक जिब्रो छेडाइसक्नु भएका कर्मीनाय कृष्णचन्द्र वाग श्रेष्ठ, नाय पमाः जलकृष्ण पिला श्रेष्ठ, अर्का पमा माइला भासिको श्रेष्ठ, यसअघि आठ पटक जिब्रो छेडाउनु भएका जुजुभाई वाग श्रेष्ठ पनि मञ्ममा उक्लनुभयो ।

जिब्रो छेड्न तयार भएका सुजनका आफ्नै ठूलो बुबा कर्मीनाय कृष्णचन्द्रले वरिपरि अक्षता फूल छर्किएर देवीदेवतालाई सम्झदै धूप बत्ति बालेपछि एक महिनाअघि तयार पारी तेलमा डुबाइराखेको १० इञ्च लामो फलामको सुइरोले हजारौ मानिसहरूकै अगाडि २ बजेर ३५ मिनेटमा जिब्रो छेडिदिनु भयो । त्यसपछि सुजन सबैलाई नमस्कार र अभिभावदन गर्दै चन्द्राँकारकोे भ्वाय् अर्थात महाद्वीप बोकेर निस्कनुभयो । त्यसक्रममा जिब्रो छेडाएका अनुभवी जुजुभाईदेखि स्थानीय दीलकृष्ण प्रजापतिसमेतले दोस्रो पटक जिब्रो छेडाएका सुजनसँगसँगै हिँडेर हौसला प्रदान गर्नुभयो ।

महाद्वीप बोकेर सुजनले करिब एकघण्टासम्म बोडेको टोलटोल घुमेर बिभिन्न देवी देवताका मन्दिरको परिक्रमा गर्नुभयो । त्यसपछि जयजयकार गर्दै मन्दिरमा महालक्ष्मीको खट ल्याइ पुर्याइयो । त्यसको केही क्षणपछि भाँगु टोलमा पुगेर महालक्ष्मी मन्दिरको पाँच पटक परिक्रमा गरेपछि महाद्वीपलाई मन्दिर बाहिर राखेर सुजनभित्र प्रवेश गरेपछि जिब्रोको सुईरो निकालेर मन्दिरको भित्तामा रहेको काठमा ठोकियो । त्यसपछि जात्रा पनि सम्पन्न भयो । चैत मसान्तको दिन बोडे महालक्ष्मी मन्दिर प्राङ्गणमा लिङ्गो उठाएपछि जिब्रो छेड्ने व्यक्तिले निराहार व्रत बसेर आज जिब्रो छेडेपछि जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेका थिए । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाए घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने मान्यता रहेको लदीलकृष्ण्म प्रजापति बताउनुहुन्छ । परम्परादेखि चल्दै आएकोे जिब्रो छेड्ने जात्रालाई लोप हुनबाट जोगाउन यसअघि नवौँ पटक जिब्रो छेडेका बुद्धकृष्णकै कान्छो छोरा गतवर्ष र यसवर्ष जिब्रो छेडेर जात्राले निरन्तरता पायो ।