काठमाण्डौ, ९ जेठ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तातो हावाको लहर ‘लू’ बाट बच्ने उपाय सम्बन्धी जोखिम न्यूनीकरण तथा प्रतिकार्य कार्ययोजना तयार गरी यसको जोखिम रहेका तराई-मधेशका १८ र भित्री मधेशका ७ गरी २५ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा पठाएको छ । प्रमुख जिल्ला अधिकारी जिल्ला विपद् व्यवस्थापन समितिको अध्यक्ष रहने प्रावधान छ । १७ प्रकारका क्रियाकलाप समेटिएको कार्ययोजनामा उक्त क्रियाकलाप कार्यान्वयन गर्ने जिम्मेवार निकाय र सहयोगी निकाय समेत उल्लेख गरिएको छ ।
प्राधिकरणले कार्ययोजनाका साथमा लू का लक्षण, लू लागेमा गर्नुपर्ने उपचारात्मक र निधानात्मक उपाय एवं गर्न नहुने कार्यहरु समेटिएको सामग्री पनि सम्प्रेषण गरेको छ । प्राधिकरणले लू को जोखिम रहेका सबै पालिका, यस क्षेत्रमा काम गर्ने मानवीय संघसंस्थालाई समेत कार्ययोजना अनुसार भूमिका निर्वाह गर्न अपिल गरेको छ ।
प्राधिकरणले जेठ ३ गते लूबाट हुनसक्ने जोखिम कम गर्ने विषयमा विपद् संवाद आयोजना गरेको थियो, जसमा धारणा राख्दै सरोकारवाला एवं विज्ञहरुले स्थानीय तहहरुको तदारुकता र समुदायले अभ्यास गर्दै आएका घरेलु विधिहरुको प्रबर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।