काठमाडाैं । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ । काँग्रेससँगको सहमतिअनुसार नयाँ सरकारको नेतृत्व लिने तयारीमा रहेको एमालेले प्रधानमन्त्री प्रचण्डलाई तत्काल मार्गप्रशस्त गर्न संसदीय दलको बैठक मार्फत साे आग्रह गरेको हो ।
प्रधानमन्त्रीले राजीनामा नदिई विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो । बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तीव्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।
‘हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्यूलाई आजै अविलम्ब राजीनामा दिन सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ’ बर्तौलाले भन्नुभयो, ‘प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने २८ गते माग्नुभएको विश्वासको मतको विपक्षमा एमालेको तर्फबाट मतदान गर्ने निर्णय गरेका छौं ।’

