प्रधानमन्त्री ओलीले संसदमा गरे ७ बुँदे सहमति सार्वजनिक

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , २ महिना अगाडि

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा प्रधानमन्त्री ओलीले गत असार १७ गते कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिबारे सदनलाई जानकारी गराएका हुन् । उक्त सहमति अनुसार २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् । दुई ठूला दलबीच भएकाे सहमति तत्काल सार्वजनिक गर्नुपर्ने भन्दै सत्ता र प्रतिपक्षी दलले आवाज उठाउँदै आएका थिए ।नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ७ बुँदे सहमति सार्वजनिक गर्ने माैका पनि भएकाे जनाउँदै प्रधानमन्त्रीलाई आजकाे संसद बैठकमा सार्वजनिक गर्न आग्रह गरेका थिए ।
यस्तो छ ७ बुँदे सहमति :

१) आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन राजनीतिक स्थिरताका लागि अन्य राजनीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ ९२० अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गरिने छ ।
२) राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात् अभ्यासमा देखापरेका सवल पक्ष र दुर्वल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायित्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने छ ।
३) अर्थतन्त्रमा देखिएको विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने र आन्तरिक तथा बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गरिने छ ।
४) राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीले तथा त्यसपछि २०८४ मङ्सिरमा हुने आम निर्वाचनसम्म नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने ।
५) राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गरिने छ ।
६) राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा समान हैसियतमा सरकारमा सहभागिता रहने तथा अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गरिने छ ।
७) राष्ट्रिय सहमतिको सरकारको मर्म र भावनाअनुरुप प्रदेश सरकारको गठन तथा सञ्चालन गर्ने र जनभावनाअनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिइने छ ।