सहकारी ठगी प्रकरण : लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अनुमति

Bhim Thapa Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , २ हप्ता अगाडि

कास्की । सहकारी ठगी प्रकरणमा छानबिनको क्रममा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ७ दिन हिरासत राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीका न्यायाशीध चन्द्रकान्त पौडेलको इजलासले थप ७ दिन म्याद थप्न अनुमति दिएको हो ।

सोही प्रकरणमा छनविनका लागि हिरासतमा लिएका पूर्व प्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पनि अनुसन्धानका लागि सात दिन म्याद थप भएको छ । पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । 
यही प्रकरणमा गोर्खा मिडिया प्रालिका तत्कालीन अध्यक्ष जीबी राई भने फरार छन् ।

पछिल्लो एक सातादेखिका निरन्तर प्रदर्शनले पोखराको जनजीवन प्रभावित बनेको छ । सूर्यदर्शन सहकारीपीडित र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताको प्रदर्शनले पाेखराकाे जनजीवन प्रभावित बन्न पुगेकाे हाे ।

लामिछाने पक्राउ परेपछि रास्वपाले त्यसलाई राजनीतिक प्रतिशोध भनेको छ र सिंगो पार्टी पंक्ति पोखरा उतारेर विरोध प्रदर्शन गरिरहेको छ ।

रविले सूर्यदर्शन सहकारीबाट १ करोड रुपैयाँ लिएर गोर्खा मिडियाको नाममा ऋण मिलान गरेको वित्तीय प्रतिवेदनमा समेत उल्लेख छ ।