काठमाडाैं । अमेरिकामा नयाँ राष्ट्रपति चयनका लागि मंगलबार मतदान शुरू भएकाे छ । ४७ औं राष्ट्रपतिका लागि हुने निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । मंगलबार बिहान ७ बजेबाट सुरु भएकाे मतदानले आगामी ४ वर्षको लागि ह्वाइट हाउसमा कुन अनुहार रहने भन्ने निर्णय गर्नेछ ।
कुल १६ करोड मतदातामध्ये साढे ७ करोड नागरिकले मतदान गरिसकेका छन् । राष्ट्रपतिमा निर्वाचित हुन स्वीङ स्टेटहरु पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभाडा गरी ७ राज्य निर्णायक मानिन्छन् । विश्व राजनीति, अर्थतन्त्र र कूटनीतिमा शक्तिशाली मानिने भएकाले अमेरिकी राष्ट्रपति निर्वाचनलाई विश्वभर चासोका साथ हेरिने गरेको छ ।
डेमोक्रेटिक पार्टी अमेरिकाको एक उदारवादी पार्टी हो, जसको एजेन्डा मुख्यतया नागरिक अधिकार, सामाजिक सुरक्षा र जलवायु परिवर्तनका मुद्दालाई अगाडि बढाउने र त्यसका लागि उपायहरू सुनिश्चित गर्ने हो ।
यस्तै रिपब्लिकन पार्टी कर घटाउने, सरकारको आकार घटाउने, बन्दुक राख्न अधिकार दिने, अध्यागमनको विरोध गर्ने र गर्भपतनमा कडा प्रतिबन्ध लगाउने पक्षमा छ । निर्वाचित राष्ट्रपतिको कार्यकाल जनवरी २०२५ देखि सुरु हुनेछ ।