कास्की । सूर्यदर्शन सहकारीको रकम अपचलन सम्बन्धी कसुरमा कास्की अदालतमा जारी थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बुधबार सरकारी वकिलको कार्यालय कास्कीका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम, सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका थिए ।
न्यायाधिवत्ताहरुले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरुलाई पुर्पक्षमा पठाउनुपर्ने भन्दै बहस गरेका छन् । भोलि जाहेरवालाका तर्फका अधिवक्ताहरुको बहस हुनेछ । जाहेरवालाका तर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त, रास्वपा सांसद समेत रहेकी सोविता गौतम लगायतले बहस गर्ने तयारी छ ।
दुवै पक्षको बहसपछि उच्च सरकारी वकिल कार्यालयका अधिवक्ताहरुले जवाफी बहस गर्ने भएका छन् । यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामै राखेर मुद्दाको फैसला गर्ने कि थुनाबाहिर राखेर गर्ने आदेश अदालतबाट आउनेछ ।
जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

