समावेशिताका लागि नेपाल विश्वकै नमुना : राष्ट्रपति भण्डारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२ असार ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल महिला सहभागिता र समावेशिताका लागि विश्वकै नमुना भएको बताएकी छन् । स्विट्जरल्यान्डको जेनेभामा भएको अन्तर्राष्ट्रिय श्रम संगठनको १०६औं वल्र्ड अफ वर्क समिटको ओमन एट वर्क (काममा महिला)मा सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालीले आफ्ना प्रतिनिधिमार्फत संविधान लेखेर समानताको उदाहारण विश्वलाई पेस गरेको बताएकी हुन् ।

महिला समावेशिता र सहभागितामा नेपालले संवैधानिक ग्यारेन्टी गरेर राजनीतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको पहुँचलाई बढाएको बताइन् । ‘संविधानतः महिलामाथि हुने लैंगिक असमानताको अन्त्य भएको छ, स्वास्थ्य, शिक्षा, रोजगार र सामाजिक सुरक्षाको ग्यारेन्टी गरिएको छ,’ उनले भनिन्, ‘महिलामाथि लैंगिकताको आधारमा हुने विभेद छैन, राष्ट्रसंघीय मिसनको शान्ति सेनामा नेपाली महिलाको सहभागिताले पनि यसलाई पुष्टि गर्छ ।’

सबै क्षेत्रमा महिलाको एक तिहाइ प्रतिनिधित्व सुनिश्चित गरिएको भन्दै नेपालको प्रशासनिक क्षेत्रमा समेत महिलाको पहुँच बढेको उनले बताइन् । नेपालको सांसदमा महिलाको एकतिहाइ भन्दा बढी प्रतिनिधित्व रहेको र संसद्को सभामुख र राष्ट्रपति महिला रहेको बताउँदै उनले केही समयअगाडि प्रधानन्यायाधीशको रूपमा महिलाले अवकाश लिएको बताइन् ।राष्ट्रपति भण्डारीले हालै सम्पन्न स्थानीय तहको पहिलो चरणको निर्वाचनमा ४० प्रतिशत महिला प्रतिनिधि निर्वाचित भएको भन्दै नेपालको राजनीतिमा महिलाहरू समान हैसियतमा अगाडि आएको बताइन् ।

नेपालको संविधानले अन्तर्राष्ट्रिय श्रमसम्बन्धी अभिसन्धिबमोजिम रोजगारीको अधिकार, श्रम र सामाजिक सुरक्षाका साथै साझा ट्रेड युनियन अधिकार र सामूहिक सौदाबाजीलाई मौलिक अधिकारमा समावेश गरिएको जानकारी गराइन् ।