झापामा तीन हजार ३३६ जनाको मनोनयन दर्ता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काँकडभिट्टा (झापा), ५ असार । दोस्रो चरणअन्तर्गत असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा मात्रै तीन हजार ३६६ जनाले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेका अनुसार झापामा नगर प्रमुख तथा गाउँपालिकाका अध्यक्ष पदमा १२९ जना र उपप्रमुख तथा उपाध्यक्षमा १६५ जनाले मनोनयन दर्ता गराएका छन् भने १३१ वडा अध्यक्ष पदका लागि ७३२ जनाले मनोनयन दर्ता गराएका छन् ।

महिला सदस्य पदका लागि ६०३ जना, दलित महिला सदस्यका लागि ५१८ जना र खुल्ला सदस्य पदका लागि एक हजार २७६ जनाले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत अधिकृत पाण्डेले जानकारी गराए  । आइतबार भएको मनोनयन दर्तामा सबैभन्दा बढी मेचीनगर नगरपालिकामा ३७७ जनाले मनोनयन दर्ता गराएका निर्वाचन अधिकृत इन्दिरा शर्माले बताए ।

त्यसैगरी, भद्रपुर नगरपालिकामा २९६, दमक नगरपालिकामा २९१, अर्जुनधारा नगरपालिकामा २८८, शिवसताक्षी नगरपालिकामा २८३, बिर्तामोड नगरपालिकामा २५३, गौरादह नगरपालिकामा २२० र कन्काई नगरपालिकामा १९६ जनाले मनोनयन दर्ता गराएको नगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै झापाका गाउँपालिकामध्ये सबैभन्दा बढी कमल गाउँपालिकामा १८३ जनाले मनोनयन दर्ता गराएका छन् ।