काठमाण्डौ,५ असार ।एशीयाली पूर्वाधार लगानी बैंकले नेपालको पूर्वाधार विकासमा करिव १ खरव १४ अरव लगानी गर्ने भएको छ । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपालको पूर्वाधार विकासका लागि एशीयाली पूर्वाधार लगानी बैंकले खरव भन्दा बढि लगानी गर्ने सहमति गरेको जानकारी दिए ।
दक्षिण कोरियाको राजधानी सियोलमा आयोजित बैंकको बैठकमा भाग लिई स्वदेश फर्किकामन्त्री कार्कीले आज त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै बैंकले यो वर्ष भित्रै तराईको ७ जिल्लाको पूर्वाधार विकासका लागि २८ अरव र काठमाडौं उपत्यकाको विद्युत सुधारका लागि १० अरव रकम उपलब्ध गराउने सहमति गरेको उल्लेख गरे । बैंकले काठमाडौंको सामाकोसी–टोखा सडक स्तरोन्नतिका लागि २२ अरव, पोखरा–बेनी–जोमसोम सडक विस्तारका लागि १६ अरव, तामाकोसी तेस्रो विद्युत आयोजना निर्माणका लागि १८ अरव रकम उपलब्ध गराउँदै जाने समझदारी पनि गरेको छ । बैठकमा अर्थमन्त्री कार्कीले नेपालको पूर्वाधार विकासका लागि सहयोग गरिदिन बैकसँग आग्रह गरेका थिए ।
एशीयाली पूर्वाधार लगानी बैंक अतिकम विकसित र अल्पविकसित मुलुकहरुको पूर्वाधार विकास गर्ने लक्ष्यका साथ स्थापना गरिएको बैंक हो । यसमा चीन, बेलायत र क्यानडा सरकारको विशेष लगानी रहेको छ ।