भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णय र च्यातिएको मतपत्र एक साताभित्र झिकाउन सर्वोच्चको आदेश

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,६ असार । सर्वोच्च अदालतले भरतपुरमा पुनःमतदान गर्ने निर्वाचन आयोगको निर्णय र वडा नम्वर १९ मा च्यातिएको मतपत्र एक साता भित्र झिकाउन आदेश दिएको छ । आयोगले पुनःमतदान गर्न निर्देशन दिएपछि परेको रिटमाथि आज सुनुवाइ गर्दै सर्वोच्च सर्वोच्चका कामु प्रधान न्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार्कीको इजालसले आयोगको सो निर्णय झिकाउन आदेश दिएको हो।

यस्तै इजलासले च्यातिएको मतपत्र र मतपत्र च्यात्नेमाथि लगाइएको मुद्दाको फाइल पनि झिकाउन आदेश दिएको छ। आज रिट निवेदकको पक्षबाट बरिष्ठ अधिवक्ता शम्भु थापा, हरि उप्रेती, टिकाराम भट्टराईले बहस गरेका थिए । निर्वाचन आयोगको तर्फबाट भने बरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरेका थिए ।मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेको भन्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो । भरतपुर वडा नम्बर १९ का वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए ।
मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले गत जेठ १४ गते मतपत्र च्याते पछि मतगणना स्थगित भएको थियो ।