काठमाण्डौ महानगरपालिकाका मेयर शाक्य भन्छन् -“थप ट्याक्सी उपत्यकाभित्र संचालन गर्न सकिदैन”

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाणडौ,७ असार ।सरकारले भूकम्पपीडितलाई गोलाप्रथा प्रणालीद्वारा ट्याक्सी नम्बर उपलब्ध गराउन सुरु गरेको छ । यातायात व्यवस्था विभागले ललितपुरको च्यासलमा आजदेखि चिठ्ठा खोल्ने प्रक्रिया सुरु गरेको हो । तीनदिनसम्म सो प्रक्रिया जारी रहने विभागले जनाएको छ । पहिलो दिन नुवाकोटका १ सय २५, काभ्रेका २ सय १ र रामेछापका १ सय ६४ जना गोलाप्रथाद्वारा ट्याक्सी नम्बरका लागि छनोट भएका छन् । महिनामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष साउन भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी किन्न आवेदन माग गरेको थियो ।
१ हजार ५ सय ट्याक्सीका लागि १ लाख ४८ हजारभन्दा बढी आवेदन परेका छन् । आवेदन दिएका भूकम्पपीडितलाई गोलाप्रथाबाट छनोट गरी १ हजार ५ सय जनालाई ट्याक्सी नम्बर दिइनेछ । २०७२ जेठ २८ मा मन्त्रालयले भूकम्पपीडितलाई ट्याक्सीको अनुमति दिने निर्णय गरेको थियो । दोलखा, गोरखा, सिन्धुपाल्चोक, काभे, रसुवा, धादिङ, नुवाकोट, भक्तपुर, काठमाडौं, ललितपुर, मकवानपुर, सिन्धुली, रामेछाप र ओखलढुंगा गरी १४ जिल्लालाई सरकारले भूकम्पबाट अति प्रभावित जिल्लामा सूचीकृत गरेको छ ।

यसैबीच,काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भूकम्प पीडितका लागि वितरण गर्न लागिएको ट्याक्सी उपत्यकामा वितरण नगर्न आग्रह गरेका छन । व्यबस्थापिका संसद्को उपभोक्ता हित संरक्षण उप समितिको बैठकमा बोल्दै मेयर शाक्यले भूकम्प पीडितका लागि वितरण गर्न लागिएको १ हजार ५ सय ट्याक्सीले शहरको सवारी चापलाई झन् बढाउने भन्दै वितरण नगर्न आग्रह गरेका हुन । मंगलबार महानरपालिकाको बोर्ड बैठकले राजधानीको बढ्दो ट्राफिक जामलाई तत्काल ब्यबस्थापन नगरेसम्म भूकम्प पीडितलाई दिने भनिएको ट्याक्सी उपत्यकाभित्र संचालनमा रोक लगाउन सरकारसँग माग गरेको थियो । बैठकमा बोल्दै मेयर शाक्यले काठमाडौका साना सवारी हटाउदै ठुला सार्वजनिक सवारी साधन चलाउने अभियानमा लागेका बेला एकै पटक १ हजार ५ सय ट्याक्सी थपिदा शहरको ट्राफिक ब्यबस्थापन जटिल बन्ने पनि स्पष्ट पारे ।

बैठकमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायब महानिरीक्षक मिङ्गमार लामाले पनि साना सवारी साधनको ब्यबस्थापन गरेर मात्र थप कार्यक्रम सुरु गर्नु पर्ने बताए । साना सवारीको आयातलाई पूर्णरुपमा रोक लगाई ठूला सार्बजनिक सवारी साधनहरुलाई भरपर्दो बनाउन सके मात्र सवारी चापलाई कम गराउन सकिने प्रमुख लामाले बताए । सरकारले ठुला सार्वजनिक सवारी साधन नचलाउने र व्यवसायीको सिन्डिकेट नतोड्ने हो भने उपत्यकाको सवारी चाप कम हुन नसक्ने लामाको भनाई छ ।