काठमाण्डौ, २२ असार । प्रहरी महानिरीक्षक नियुक्तिको विवादमा नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालको मुद्दामा आगामी साउन १९ गते सुनुवाइ हुने भएको छ । कामु प्रधानन्यायाधीश गोपाल पराजुली, न्यायाधीश ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमानसिंह राउत र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले सुनुवाइ हुने मिति तय गरेको अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिए ।
प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सिलवालले गत चैत ३० गते रिट निवेदन दिएका थिए । अदालतको उक्त निर्णयलाई कार्यान्वयन नगर्न अदालतले अन्तरिम आदेश दिएको थियो । सो आदेशपछि सरकारले प्रहरी नायब महानिरीक्षक प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरेको थियो ।सिलवालले वरियता क्रममा आफू १ नंमा रहेको र चार वर्षको कार्यसम्पादन र मूल्याङ्कनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनः अदालतमा निवेदन दिनुभएको थियो । त्यसमा अदालतले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो । रासस