पाँचथर पूर्ण खोपयुक्त जिल्ला घोषणा

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

पाँचथर, २८ असार । पाँचथर जिल्लालाई पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना पूरा भएका जिल्लास्थित एक नगर र सात गाउँपालिकाका सबै बालबालिकालाई खोपको मात्रा पूरा गरेको भन्दै मङ्गलबार पूर्ण खोपयुक्त घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । जिल्लामा चार हजार ४०६ जना बालबालिकालाई ४१३ खोप केन्द्रमार्फत जन्मेदेखि १ वर्षभित्र लगाउनुपर्ने खोप पुरा गरेको जनाइएको छ ।

यो घोषणासँगै पाँचथरले पूर्ण खोपयुक्त भएका जिल्लाको सूचीमा अट्ठाइसौँ स्थान ओगट्न सफल भएको छ । कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा सभासद् श्रीप्रसाद जबेगूले जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गर्दै स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । पूर्ण खोपयुक्त जिल्ला घोषणा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले अभियान सफल पार्न सहयोग गर्ने संस्थालाई सम्मान पनि गरेको थियो । पाँचथरमा पूर्ण खोपयुक्त अभियान २०७१ सालदेखि शुरु भएको हो । सबैभन्दा पहिले जिल्लाको थर्पु र सबैभन्दा पछाडि लुङरुपालाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको थियो ।