हिजोदेखि अबरुद्द नारायणगढ–मुग्लिन सडकखण्डको पहिरो हटाउने क्रम जारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, २९ असार । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत कालीखोलास्थित चार किलो भन्ने स्थानमा खसेको पहिरो आज बिहान ४ बजेदेखि पुनः हटाउन थालिएको छ ।बुधबार अपराह्न ३ः२५ बजे पहिरो खसेर अवरुद्ध भएको सडक अझै खुल्न सकेको छैन । राति ८ बजे एकतर्फी बाटो खुलाएर बीच सडकमा अड्किएर जोखिममा परेका सवारीसाधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः पन्छाउन थालिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।

राति पहिरो खस्ने जोखिम बढेकाले काम रोकेर आज विहान पहिरो पन्छाउन थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिए ।यसअघि पनि इच्छाकामना गाउँपालिका–६ स्थित कालीखोला र चार किलो भन्ने स्थानमा पटकपटक पहिरो खसेको थियो । सडक विस्तारका क्रममा भित्तो काटिएको क्षेत्रमा बढी पहिरो खसिरहेको छ ।मुग्लिनदेखि कालीखोला हुँदै घुमाउनेसम्मको सडक पहिरोको उच्च जोखिममा छ । सोही स्थान नजिकै यही असार ९ गते बिहान खसेको पहिरोमा परेर तीनजना प्रहरीको मृत्यु भएको थियो भने एक प्रहरी अझै बेपत्ता छन् ।