नेपालले आतङ्कवादविरुद्ध सात कानुन बनाउँदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, २९ असार । गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन। श्रीलङ्काको कोलम्बोमा आयोजित दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रहरुको गृहमन्त्रीस्तरीय आठौँ बैठकलाई आज सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचार बढ्दै जाँदा राजनीति, सम्बन्धित संस्था र नेतृत्वमाथि समेत जनताको विश्वास गुम्ने बताउनुभएको उनको सचिवालयले जनाएको छ ।

उनले आतङ्कवाद तथा आपराधिक क्रियाकलापविरुद्ध विश्वभरबाट उच्चतम प्रयास चालिए पनि त्यस्ता समस्याको समाधानमा कठिनाइ उत्पन्न भइरहेको टिप्पणी गरे । आतङ्कवादविरुद्ध नेपालले महत्वपूर्ण सात कानुन बनाउन लागेको जानकारी मन्त्री शर्माले बैठकमा दिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयलाई सम्बोधन गर्न पुनरवलोकन समिति समेत गठन भएको बताउँदै उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसार काम अगाडि बढेको जानकारी दिए । अहिलेको विकास र समृद्धिको दिशामा विद्युतीय अपराध ठूलो चुनौती बनिरहेको गृहमन्त्री शर्माको भनाइ छ । दुईदिने कार्यक्रममा सहभागी भई गृहमन्त्री शर्मा, मन्त्रालयका सचिव लोकदर्शन रेग्मी र प्रवक्ता दीपक काफ्ले शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । रासस