आज साउनको पहिलो सोमबार, पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा भक्तजनहरुको भिड

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२ साउन । आज साउन महिनाको पहिलो सोमबार हिन्दू धर्मावलम्बीहरु शिव मन्दिरमा पूजा आराधना गरी मनाउँदैछन् ।साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले पशुपतिनाथ लगायत देशभरिका शिब मन्दिरमा धर्मावलम्बीको भीड लागेको छ ।

पशुपतिनाथको दर्शनका लागि भत्तजनहरु बिहान २ बजेदेखि लाममा बसेका थिए । उत्तर, पश्चिम र दक्षिण ढोकाबाट प्रवेश गरी अहिले भक्तजनले पशुपतिको दर्शन गरिरहेका छन् । पशुपतिमा विशेष पूजाका लागि आर्यघाटबाट पूर्व ढोकातिर पठाउने व्यवस्था मिलाइएको छ।

प्रधान न्यायाधीश गोपाल पराजुलीले बिहान ७ बजे पश्चिम ढोकाबाट प्रवेश गरी पशुपतिनाथको दर्शन गरेका छन ।
पशुपतिमा विशेषगरी हरियो चुरा पोतेमा सजिएका महिलाको भीड लागेको छ । विशेषगरी महिलाहरु हरियो रंगका चुरा, मेहंदी र गेरु बस्त्र लगाएर भगवान शिवको पूजा तथा आराधना गरी ब्रत बस्ने गर्छन् ।

som1

यस्तै,देवघाटमा बोलबम मेला भर्न नेपालका बिभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरु देवघाट पुगेका छन् । रातिदेखिनै भक्तजनहरुको देवघाटमा भेला हुने क्रम शुरु भएको थियो । दिउँसो पनि जल चढाउन देवघाट जाने भक्तजनको संख्या धेरै रहेको देवघाट क्षेत्र बिकास समितिले जनाएको छ ।पछिल्ला बर्षहरुमा बोलबममा युवा युवतीको संख्या धेरै हुने गरेको छ । साउन महिनाभर देवघाटमा बोलबम मेला लाग्ने गर्दछ । विशेषगरी सोमबार तीर्थालुहरुको बढी भीड लाग्ने गरेको छ ।नदीमा बाढी बढेकोले जल भर्ने क्रममा बगाउन सक्ने भएकाले भक्तजनको सुरक्षाका लागि नदी किनारामा बाँसको किला गाडेर डोरी टाँगिएको छ । झोलुङ्गे पुलबाट आवत जावतलाई सहज बनाउन पुलको दुबै तर्फ ठुलो संख्यामा प्रहरी पनि खटाइएको छ ।