काठमाण्डौ,८ साउन ।सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कार्वाहीप्रति असन्तुुष्टि जनाएका छन ।सांसदहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनीतिक तहको भ्रष्टाचार र नीतिगत रुपमा हुने गरेका भ्रष्टाचारलाई अनुसन्धानको दायरा ल्याउन नसकेको आरोप पनि लगाएका छन ।
व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिको आईतबारको बैठकमा बोल्दै सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदनमा राजनीतिक तहको भ्रष्टाचार नसमेटिएको दावी गर्दै आपत्ति जनाए । उनले आयोगको काम, कार्वाही पूर्वाग्रही भएको दावी पनि गरे । सांसद जोशीले मुलुकमा नीतिगत भ्रष्टाचार चुलिँदै जाँदा समेत त्यसलाई समेटने प्रयास अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्न नसकेको आरोप पनि लगाए ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद नगेन्द्रकुमार कुमालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानको कामलाई सतर्कतापूर्वक अघि बढाउन नसकेको आरोप लगाए । उनले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियारलाई साथमा लिएर संसद र संसदीय समितिहरुले विशेष निगरानी राख्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
राष्ट्रिय जनता पार्टी, नेपालका सांसद नरसिंह चौधरीले राजनीतिक तहमा हुने भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो नदिएको आरोप लगाए । साथै उनले भ्रष्टाचार नियन्त्रण गर्ने हो भने सांसदहरुले आफूले आफैंलाई सुशासनको दायरामा ल्याउनुपर्ने स्पष्ट पारे । सांसद चौधरीले विकास निर्माणको काममा हुने भ्रष्टाचार नियन्त्रणका लागि सांसदहरु आफै लाग्नुपर्ने आवश्यक्ता औल्याए ।
व्यवस्थापिका संसद अन्तरगतको सुशासन तथा अनुगमन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई जवाफदेही बनाउन आवश्यक रणनीति तय गर्न त्यसको वार्षिक प्रतिवेदनमाथि छलफल गरेको हो ।

