भरतपुर १९ मा शुक्रबार पुनः मतदान,शान्तिपूर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

रत्ननगर (चितवन), १७ साउन । चितवनको भरतपुर–१९ मा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न गर्न जिल्लाका राजनीतिक दलहरु एकबद्ध भएका छन् । भरतपुर–१९ मा पुनः मतदानका लागि मिति तय गर्न आज बसेको सर्वदलीय बैठकमा यस्तो सहमति भएको हो । नेकपा (एमाले)का अध्यक्ष तथा सांसद कृष्णभक्त पोखरेलले राजनीतिक तीक्तता नगरी शान्तिपूर्ण निर्वाचन गर्ने विषयमा दलहरुबीच सहमति भएको बताए  ।

छलफलपछि पत्रकारसँग संक्षिप्त कुरा गर्दै नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बुधबारदेखि प्रचारप्रसार गर्न नपाउने मौन अवधि शुरु हुने गरी साउन २० गते निर्वाचनको मिति तय गरेको जानकारी दिए  ।

यस्तै, नेकपा (माओवादी केन्द्र)का जिल्ला इञ्चार्ज ईश्वरी भट्टाराईले सबै दलको सहमतिमा मिति तय गरी सौहार्दपूर्ण रुपमा मतदान सम्पन्न गर्ने सहमति भएको र सोही अनुसार अघि बढ्ने बताउनुभयो । उनले प्रचारप्रसार पहिले नै भइसकेकाले अब खासै प्रचार आवश्यक नभएकाले भोलिदेखि नै मौन अवधि शुरु गर्ने सहमति गरेको बताए ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले सार्वजनिक गरेको सूचनामा २०७४ साल जेठ २० गतेको निर्वाचन आयोगको निर्णय र साउन १६ को निर्देशनअनुसार भरतपुर १९ को मतपत्र बदर घोषित गरी सो स्थानमा साउन २० गतेका दिन बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुने उल्लेख गरिएको छ ।

निर्वाचन अधिकृतको कार्यालय चितवनले दलसँगको बैठकपछि आजै भरतपुर–१९ को दुई हजार ८०७ बदर मतलाई दलीय प्रतिनिधिको सहभागितामा मतगणनास्थल भरतपुरको कभर्ड हलको परिसरमा जलाएर नष्ट गरेको थियो । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले मतदानस्थलमा आवश्यक सुरक्षाकर्मी परिचालन भइसकेको जानकारी दिए ।

पुनः मतदानमा ३६ कर्मचारी खटाइने 

साउन २० गते पुन मतदान हुन लागेको चितवनको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने भएको छ । तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको भरतपुर–१९ मा ३६ जना कर्मचारी खटाइने सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए ।