स्वाइनफ्लुबाट छ जनाको मृत्यु , उपचारको व्यवस्था गरिएको स्वास्थ सेवा विभागको भनाई

arjun Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१९ साउन । स्वाइनफ्लुबाट पोखरा र झापामा गरी छ जनाको मृत्यु भएको छ । अन्य केही बिरामी परेका छन् । विरामीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको र संख्या भने यकिन नभएको जनस्वास्थ्य कार्यालय कास्कीले जनाएको छ । देशैभर ८३ जनालाई स्वाइनफ्लु देखिएको छ ।

स्वाइनफ्लु देखिएपछि पोखरामहानगरमा चार स्वास्थ्यकर्मीको टीम खटाइएको छ । रुघाखोकी लाग्ने, घाँटी दुख्ने, ज्वरो आउने, नाकबाट सिंगान आईरहने भएमा सचेतना अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।

यसैबीच,सरकारले स्वाईन फ्लू रोगका लागि आवश्यक औषधि उपचारको व्यवस्था गरिएको जनाएको छ । देशका विभिन्न भागमा स्वाईन फ्लूको संक्रमण भईरहेका बेला स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले आज पत्रकार सम्मेलन गरी रोगको उपचारको व्यवस्था गरिएको जानकारी गराएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै महाशाखाका निर्देशक डा. भीम आचार्यले स्वाईन फ्लू रोगको उपचारका लागि औषधिको व्यवस्था गरिएको बताए । उनले औषधि महंगो पर्ने भएकाले त्यसलाई निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको पनि स्पष्ट पारे । निर्देशक आचार्यले रोगको पहिचान स्थानीय स्तरमा नभए केन्द्रमै सम्पर्क गर्न पनि सर्वसाधारणमा समेत अपिल गरे ।

विभागले सय दशमलव ४ डिग्री भन्दा बढि ज्वरो आएमा स्वाईन फ्लू रोगको संक्रमण भएको हुन सक्ने उल्लेख गर्दै नजिकको स्वास्थ्य संस्थामा चेकजाच गराउन पनि अपिल गरेको छ । निर्देशक आचार्यले यो रोगबाट बच्न हातको सफाईमा विशेष ध्यान पनि आग्रह गरे । नेपालमा यो वर्ष स्वाईन फ्लूबाट ६ जनाको ज्यान गएको सरकारी तथ्यांकमा उल्लेख छ । यो रोगको प्रकोप वर्षायामको सूरु तथा अन्त्य र जाडो यामको सूरु र अन्त्यमा देखिने गरेको छ ।