चितवन, २२ साउन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेसको गठबन्धनका तर्फबाट निर्वाचित प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथ ग्रहण गरेपनि नेकपा (एमाले)का तर्फबाट निर्वाचित वडा अध्यक्ष र सदस्यले भने शपथ ग्रहण गरेनन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह र वडा अध्यक्षलाई शपथ गराएका थिए। सोही अवसरमा प्रमुख दाहालले वडा सदस्यहरुलाई शपथ गराएका हुन।
प्रमुख दाहाल माओवादी केन्द्रका तर्फबाट निर्वाचित हुन भने उपप्रमुख शाह काँग्रेसका तर्फबाट निर्वाचित भएका हुन । महानगरमा एमालेले १४ वडा अध्यक्षसहित ७० सदस्य, नेपाली काँग्रेसले १२ वडा अध्यक्षसहित ६९ सदस्य र माओवादी केन्द्रले तीन वडा अध्यक्षसहित आठ सदस्य पद जितेको छ ।तर एमालेबाट प्रतिनिधित्व गरेका निर्वाचित प्रतिनीधिले भने आजको शपथ ग्रहण बहिष्कार गरेका छन् । मत पत्र च्यात्नेहरुसँग आफूहरुले शपग ग्रहण नगर्ने भन्दै उनीहरुले भोलि न्यायाधीशसँग छुट्टै शपथ ग्रहण गर्ने एमाले चितवनका अध्यक्ष कृष्णभक्त पोखरेलले बताए् ।