बिम्स्टेक एसओएम बैठक आज देखि राजधानीमा शुरु

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडाँै, २६ साउन । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरु (एसओएम)को १८औँ बैठक आज यहाँ शुरु भयो ।

नेपालसहित भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको आज र भोलि यहाँ हुने बैठकले सदस्य देशका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीको १५औँ मन्त्रिस्तरीय बैठकको कार्यसूची निर्धारण गर्नेछ ।

बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गरेका छन्  भने भारतको बाह्य मामिला मन्त्रालयका सचिव प्रीति शरण, भुटानको विदेश मन्त्रालयका सचिव सोनाम छोङ, बंगलादेशका विदेश सचिव मोहम्मद शहिदुल हकले आ–आफ्ना राष्ट्रको प्रतिनिधित्व गर्ने छन् । त्यसैगरी म्यान्माको परराष्ट्र मन्त्रालयको अन्तर्राष्ट्रिय संगठन तथा आर्थिक विभागका महानिर्देशक क्वा मो तुन, श्रीलंकाको विदेश मन्त्रालयका अतिरिक्त सचिव ग्रेस आशिर्वाथन र थाइल्याण्डको विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक मामिला विभागका नायब महानिर्देशक इकसिरी पिन्टारुचीले बैठकमा आ–आफ्नो मुलुकको प्रतिनिधित्व गरेका छन्  ।

बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुनेछ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ मन्त्रिस्तरीय बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम छ भने आजै साँझ सदस्य मुलुकका बाह्य मामिला÷विदेश÷परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने कार्यक्रम छ । दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो ।