राजपालाई निर्वाचन चिह्न दिन सकिन्न : निर्वाचन आयोग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २९ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) लाई असोज २ गते हुने निर्वाचनमा छाता निर्वाचन चिह्न दिन नसकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सत्तारूढ दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राजपाका नेता तथा आयोगका पदाधिकारीसहितको छलफलमा तत्काल राजपाले निर्वाचन चिह्न दिन नसकिने आफूहरुले जानकारी गराएको प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले जानकारी दिए  ।

राजपा एकता हुनुअघिका छ दलमध्ये कुनै दलको निर्वाचन चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने बैठकले निष्कर्ष निकालेको काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए  । नयाँ मतपत्र छपाइका क्रममा राजपामा आबद्ध छ दलका निर्वाचन चिन्हमध्ये पाँचवटा निर्वाचन चिह्न हटाएर एक दलको मात्र निर्वाचन चिह्न राखेर मतपत्र छाप्न सकिने वा नसकिनेबारे आयोगले भोलिसम्म परामर्श गरी जानकारी दिने बैठकमा सहमति भएको छ ।

यसैबीच, सत्तारूढ दल र राजपाका नेताहरुबीच आज छुट्टै बसेको बैठकमा मंगलबार संविधान संशोधन विधेयक मतदानका लागि लैजाने सहमति भएको राजपाका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिनुभयो । उहाँले तराईको बाढीपीडितको राहत तथा उद्धारमा युद्धस्तरमा खटिन आग्रह गरेको बताए  ।