पहिरोको कारण २० दिनदेखि विद्यालय बन्द

arjun News/समाचार , ७ वर्ष अगाडि

पाँचथर, १५ भदौ । साउन २६ गते गएको पहिरोका कारण बाटो अवरुद्ध हुँदा पाँचथरको फालेलुङ गाउँपालिका–३, मेमेङको खोलाघारीस्थित सिद्धकाली आधारभूत विद्यालय अझै सञ्चालनमा आउन सकेको छैन । साउन २६ गते बिहान गएको पटहिरोबाट विद्यालय क्षेत्रका ४१ परिवार विस्थापित भएपछि उक्त विद्यालयका २८ बालबालिका विद्यालय जान नसकेका हुन् । पहिरोबाट विस्थापित स्थानीयवासी स्थानीय वुङचिङ डाँडामा बस्दै आएका छन् ।

पहिरोका कारण ठाउँ–ठाउँमा धाँजा फाटेर घरमा बस्न नहुने भएको र विद्यालय पुग्ने बाटो पनि अवरुद्ध भएकाले विद्यालय जाने स्थिति नभएको उल्लेख गर्दै विद्यालयको अनुगमनमा जानुभएका जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति चक्रपाण्डे सुवेदीले भन्नुभयो, “बाटो घाटो सबै बगाएको छ, सबैतिर पानीको दलदल छ ।” आइतबरबाट विद्यालय सञ्चालन गर्ने प्रयास गरेपनि निरन्तर पानी परेका कारण नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमकुमार राईले बताउनुभयो । निरन्तरको वर्षासँगैको पहिरोले पाँचथरको फालेलुङ– ३ र १ मा बढी क्षति गरेको थियो । अझैसम्म पनि निरन्तर पानी परिरहेकाले विद्यालय सञ्चालन गर्नसक्ने अवस्था नभएको स्थानीयवासीको भनाइ छ ।