मोरङ, ९ असोज।मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ ।
मिल सञ्चालन गर्न रु १० करोड बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यकपर्ने भएको हो । सरकारले बजेट पठाउने आश्वासन दिएको तर अहिलेसम्म बजेट पठाउने कुनै चाँजोपाँजो नगरेको मिलका निर्देशक राजेन्द्र कार्कीको भनाइ छ ।
उनका अनुसार मिल सञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । भारतका उद्योगी राधाकृष्ण चमडियाले विसं १९९३ मा स्थापना गरेको विराटनगर जुटमिलको पूर्णरुपमा सञ्चालन हुने हो भने चार हजार मजदुरले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ । उक्त मिलमा काम गरेकै अवस्थामा ००७ सालको प्रजातन्त्र स्थापनाका लागि प्ूर्वप्रधानमन्त्रीद्वय स्व मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले आन्दोलनको विगुल फुक्न शुरु गरेका थिए।