नारायणगढ–मुग्लिन सडकमा १८ पुल बन्ने,झण्डै एक अर्ब खर्च हुने अनुमान

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, १३ असोज । नारायणगढ–मुग्लिन सडकखण्डको हाल पुल भएका स्थानमा आउँदो दुई वर्षभित्र १८ वटा नयाँ पुल बनाइने भएको छ ।

सो सडक खण्डमा हाल रहेका पुल साँघुरा र जीर्ण छन् । सडक विभागको वैदेशिक महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार चार पुलको आउँदो एक महिनाभित्र ठेक्का सम्झौता हुने छ । उहाँका अनुसार बोलपत्र भइसकेका ती पुलको ठेकेदार चयनपछि निर्माणको काम अघि बढ्ने छ । अन्य १४ पुलका लागि नक्शांकनको काम भइरहेको छ ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सो सडकमा हाल रहेका पुल छ मि मात्र चौडा छन् । अब बन्ने पुल ११ मि चौडा हुने छन् ।

पुलको दुवैपट्टि छेउमा एक दशमलव पाँच मिका दरले फुटपाथ रहने छ । पुराना पुललाई मर्मत गरी आवतजावत गर्न मिल्ने अवस्थामा राखिनेछ । बीचको भागबाट दुई. गाडी एकैसाथ आवतजावत गर्नसक्नेछन् । विभागका उपमहानिर्देशक श्रेष्ठले आउँदो दुई वर्षमा सबै पुल नयाँ बनिसक्ने बताए । पुल निर्माणका लागि झण्डै रु एक अर्ब खर्च हुने अनुमान गरिएको छ ।