राष्ट्रपतिदेखि पूर्वराजाले सम्म दिए दशैको शुभकामना

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरुको महान् चाड बडा दशैंका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेकी छिन।

राष्ट्रपतिले आज दिएको शुभकामना सन्देशमा सबै जातजाति र धर्मावलम्बीहरुको साझा फूलवारीको प्रतीकका रुपमा रहेका हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेका बताईन ।

विभिन्न जातजाति, समुदाय, भूगोल र धर्माबलम्वीका विशिष्ट परम्पराहरु हाम्रा अनुपम सांस्कृतिक वैभव, धरोहर र सहिष्णुताका रुपमा रहेको उनले सन्देशमा उल्लेख गरिएको छ ।
..
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले पनि विजयादशमीका अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रको निरन्तर समुन्नति र समृद्धिका साथै समस्त नेपालीमा सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्म निरपेक्ष मुलुक भएको र संविधानले सबै धर्म, संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने अधिकार प्रत्याभूत गरेको उल्लेख गर्दै उनले सन्देशमा संविधान कार्यान्वयनका क्रममा हालै सम्पन्न स्थानीय तहको निर्वाचन र आगामी मंसिरमा हुने सङ्घ र प्रदेशको निर्वाचनले मुलुकलाई आर्थिक समृद्धिको यात्रामा द्रुत रुपमा अगाडि बढाउने विश्वास व्यक्त गरे ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालीहरुको महान् चाड बडा दशैं –२०७४ का अवसरमा सम्पूर्ण नेपालीको जीवनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन।प्रधानमन्त्री देउवाले आज दिएको शुभकामना सन्देशमा जननिर्वाचित संविधानसभाले बनाएको संविधान कार्यान्वयनको अन्तिम चरणमा पुगेको, शान्ति प्रक्रिया लगभग टुङ्गिएको र मुलुकमा बल्ल राजनीतिक स्थायित्व कायम भएको उल्लेख गर्दै उल्लासमय शरद ऋतुको महान् चाड बडा दशैँको शुभकामना दिएका छन ।

यसैगरि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा प्राप्त होस् भन्ने कामना गरेका छन ।वडादशैंको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा मंगलमय शुभकामना व्यक्त गर्दै उनले जननिर्वाचित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको बताएका छन ।

यस्तै पूर्व राजा ज्ञानेन्द्र शाहले पनि विजयादशमीको उपलक्ष्यमा देशभित्र र देशबाहिर रहेका सबै नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सफलताका लागि शुभकामना व्यक्त गरेका छन ।आज एक शुभकामना सन्देश दिँदै उनले मौलिक नेपाली संस्कृति, परम्परा र नैतिक मुल्य मान्यता स्थापित गर्दै जाने तथा आयातित संस्कृति र धर्मलाई निरुत्साहित गर्नुपर्ने बता। सन्देशमा उहाँले नवदुर्गा भवानीले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन ।