तिहारका लागि तीन लाख फूलको माला ल्याइँदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, २७ असोज (रासस) । गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ । गत वर्षको तुलनामा माग बढेका कारण फूलको मूल्यमा वृद्धि हुने भएको हो । गत वर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ ।

यस वर्ष उपभोक्ताले एउटा मालाको मूल्य रु ६० देखि रु ७० सम्म तिर्नु पर्ने देखिन्छ । गत वर्ष रु ५० देखि रु ६० सम्ममा माला किनमेल भएको फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ । प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरेको थियो । तर यस वर्ष फूलको उत्पादनमा कमी आएकाले तिहारका लागि तीन लाख माला आयात गरिने फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए।

गत वर्ष दुई लाख माला आयात गरिएको थियो भने यस वर्ष माग बढेकाले रु ९० लाखको सयपत्री फूलको तीन लाख माला भारतबाट आयात गर्ने तयारी भएको छ । यो गत वर्षको तुलनामा रु ३० लाखले बढी हो । गत वर्ष रु ६० लाख मूल्य बराबरको सयपत्री माला आयात गरिएको थियो । अहिले देशभित्रै ९० प्रतिशत फूल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ । यसअघिका तिहारमा १८ प्रतिशतसम्म फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।

यस वर्ष तिहारमा देशभर रु १५ लाख फूलको मालाको कारोबार हुने भएको छ । गत वर्षको तिहारमा रु ११ लाखको कारोबार भएको थियो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ ।

सन् २०१६ मा रु एक अर्ब ७१ करोडको फूलको कारोबार भएकामा तिहारमा मात्र रु सात करोडको फूलको कारोबार भएको थियो । त्यसैगरी करिब रु पाँच करोडको फूल वार्षिकरुपमा आयात हुने गरेको छ । मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूल बढी खपत हुन्छ ।

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको अवस्था छ । अस्टे«लिया, मलेसियामा नेपालीले बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ । व्यावसायिकरुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ ।