औषधिको मूल्य अब ३५ देखि ४० प्रतिशतसम्म कम हुने !

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडाै, २७ कात्तिक । नेपाली जनताले महँगो मूल्यमा औषधि किन्दै आएकामा अब कम्तीमा ४० प्रतिशतसम्म कम मूल्यमा पाउने भएका छन् । सुपथ मूल्यमा गुणस्तरीय औषधि खरिद गरी सरकारी अस्पतालका औषधालयमार्फत उपलब्ध गराउने सम्बन्धमा सिफारिशसहित सुझाव पेश गर्न सरकारद्वारा गठित उच्चस्तरीय समितिले आज प्रधानमन्त्रीलाई बुझाएको अध्ययन प्रतिवेदनले हालको औषधिको मूल्यमा ७० प्रतिशतसम्म कम गर्न सकिने सुझाव दिएको छ ।

समितिले झण्डै चार महिनासम्म औषधि व्यवसायी, सरकारी औषधालय, विभिन्न सार्वजनिक संस्थान, नेपाल औषधि उत्पादक संघ र छिमेकी देशको औषधि खरिद र व्यवस्थापनसम्बन्धी व्यवस्थाबारे विस्तृत अध्ययन गरी प्रतिवेदन तयार पारेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिवेदन बुझ्दै मुख्यसचिवलाई आजैदेखि कार्यान्वयनमा लैजान निर्देशन दिए । उनले नेपाली जनतालाई सुलभ र सस्तो मूल्यमा गुणस्तरीय औषधि सहज रुपमा उपलब्ध गराउनु सरकारको दायित्व भएको बताए ।

सरकारले विभिन्न कडा रोगको उपचारका लागि आर्थिक सहयोग गर्दै आए पनि औषधिमा चर्को मूल्य तिर्नुपरेको गुनासो जनताले गर्दै आएका छन् । अर्बुद मिर्गौलालगायत नेपाली बजारमा बिक्री हुँदै आएका रोगका औषधि दुई हजार २०० प्रतिशतसम्म बढी मूल्य राखेर बिक्री हुने गरेको गुनासो छ । तत्कालीन स्वास्थ्यमन्त्री गगनकुमार थापाले सरकारले विदेशी कम्पनीबाट किन्नुपर्ने औषधि सीधै खरिद गरी सरकारी अस्पतालका औषधालयबाट बेच्नुपर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेका थिए ।

सोहीअनुरुप गत वैशाख ३० गतेको मन्त्रिपरिषद्को बैठकले औषधिको मूल्य निर्धारण गर्न र सुपथ मूल्यमा खरिद बिक्री गर्न सार्वजनिक खरिद व्यवस्थापन कार्यालयका सचिव विनोद केसीको संयोजकत्वमा अर्थ र स्वास्थ्य मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरेको थियो ।