चितवन २२ मंसिर। चितवनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतगणना आज बिहानदेखि शुरु हुँदैछ । मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग बिहीबार साँझ बसेको सर्वदलीय बैठकले आज बिहान ९ बजेबाट मतगणना गर्ने निर्णय गरेको चितवनका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले जानकारी दिनुभयो । चितवनको विकट क्षेत्रका मतपेटिका ल्याउन समय लागेकाले बिहीबार मतगणना हुन नसकेको हो । उहाँका अनुसार चितवनको पहाडी क्षेत्रका मतपेटिका आउन राति अबेरसम्म लागेको थियो । यसपटक भरतपुरस्थित चितवन माविको भवनमा मतगणना हुने शर्माले जानकारी दिनुभयो ।
विगतको दुईवटा संविधानसभा निर्वाचनमा पनि सोही स्थानमा मतगणना भएको थियो । स्थानीय तहको निर्वाचनको मतगणना भने भरतपुरको कभर्डहलमा गरिएको थियो । कभर्डहलमा मतगणनाका क्रममा मतपत्र च्यातिएपछि मतपत्रको सुरक्षालाई मध्यनजर गरी यहाँ तारजाली लगाएर गणनास्थल बनाइएको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिनुभयो ।
शर्माले अहिले मतगणनास्थल भरतपुरको चितवन माविमा आवश्यक सिसी क्यामेरा, इन्टरनेट तथा बत्तीको व्यवस्थापन गरिएको जानकारी दिनुभयो । चितवनमा करिब ७० प्रतिशत मतदान भएको छ । तीन निर्वाचन क्षेत्रमा तीन लाख ५४ हजार ३६ मतदाता थिए ।
कपिलवस्तुमा पनि बिहानदेखि मतगणना शुरु हुने
जितपुर, कपिलवस्तु,ः अहिले सर्वदलीय बैठक बसिरहेको र बैठक सकिएलगत्तै विहानैदेखि मतगणना शुरु हुने जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुका अधिकृत ज्ञानहरि घिमिरेले जानकारी दिनुभयो । बिहीबार जिल्लाको पश्चिमी क्षेत्र विजयनगर गाउँपालिका र कृष्णनगर नगरपालिकाबाट मतपेटिका सदरमुकाम ल्याउन ढिला भएको कारण आज मतगणना ढिला शुरु हुने भएको हो ।
प्रतिनिधिसभा सदस्यका तीन र प्रदेशसभाका ६ क्षेत्र रहेको कपिलवस्तुमा मतगणना सदरमुकाम तौलिहवाका दुई छुट्टाछुट्टै विद्यालयमा गरिनेछ । जिल्ला निर्वाचन अधिकृत घिमिरेका अनुसार निर्वाचन क्षेत्र नं १ र ३ को बुद्ध पद्म मावि र क्षेत्र नं २ को तौलेश्वर संस्कृत माविमा गणना गरिनेछ । यसपटकको मतगणना गर्दा सिसिटिभी जडान गरिने भएको छ । प्रत्येक कोठामा सिसिटिभी क्यामेरा जडान गरिएको छ । प्रत्येक कोठामा सातजना कर्मचारी ८ घण्टाका दरले काम गर्नेसमेत मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कतिपय जिल्लामा मतगणनाको तयारीमा तारजाली लगाउने क्रम शुरु भएका बेला कपिलवस्तुमा भने तारजाली नराखी गणना गरिने बताइएको छ ।
इलाममा आज विहान १० बजेदेखि
इलाम —प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणनाका लागि इलाम सम्पूर्ण तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बेलुकासम्म सबै मतदान केन्द्रबाट मतपेटिका आइपुगेकाले आज बिहान १० बजेदेखि मतगणना कार्य शुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनुभयो ।
मतगणनाका लागि इलामको नवनिर्मित मालपोत कार्यालयमा व्यवस्थापन गरिएको छ । मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेर मतगणना कार्य शुरु गरिने उहाँले बताउनुभयो । मतगणनास्थलमा तारबारको व्यवस्थापन गरिएको छ । तीन मतदान केन्द्रको बढीमा तीनवटा मतपेटिकामा भएका मतपत्र मिलाएर गणना गर्ने बताइएको छ । इलाम जिल्लामा दुई प्रतिनिधिसभा, चार प्रदेशसभा क्षेत्र रहेका छन् । क्षेत्र नं १ र २ को छुट्टाछुट्टै मतगणना कार्यको व्यवस्था मिलाइएको छ । रासस

