विभेद र बहिष्करणमा परेकाको उत्थान गर्नुपर्छ :राष्ट्रपति

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २३ मंसिर। राष्ट्रपति विद्यादेवी भण्डारीले विभेद र बहिष्करणमा परेकाको उत्थान गर्दै ती वर्गलाई आर्थिक समृद्धिको मूलधारमा नल्याएसम्म साँचो अर्थमा मानवअधिकारको संरक्षण र संवद्र्धन हुन नसक्ने बताउनुभएको छ ।

उनान्सत्तरिऔँ मानवअधिकार दिवस २०१७ तथा नवौँ मानव अधिकार राष्ट्रिय महाभेलालाई आज यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उहाँले मानवअधिकार क्षेत्रका उपलब्धि हुँदा पनि मानवअधिकार उल्लङ्घन भएकाले त्यसको विशेष अध्ययन अनुसन्धान आवश्यक भएको बताउनुभयो ।

शुद्ध खानेपानी, स्वच्छ वातारण र खाद्य सुरक्षा हुनुपर्नेमा जोड दिँदै राष्ट्रपति भण्डारीले खाद्यान्नमा मिसावटले मानव स्वास्थ्यमा असर परेको बताउनुभयो । उहाँले संविधानले बहुदलीय लोकतान्त्रिक प्रणाली, पूर्ण प्रेस स्वतन्त्रता र स्वतन्त्र तथा सक्षम न्यायपालिका, कानुनी राज्य तथा मानवअधिकार प्रत्याभूत गरेको बताउनुभयो ।

उहाँले संविधानमा नागरिक अधिकारमा आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारको संरक्षण गरेकाले हिमाल, पहाड, तराई सबै क्षेत्रका जनताले सम्मानित भएर बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले हालै सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन दक्षिण एशियाकै उत्कृष्ट भएको बताउनुभयो ।  (रासस)