जनकपुरधाम, ५ पुस । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले राष्ट्रपतिलाई अध्यादेश रोक्ने संवैधानिक प्रावधान नरहेको बताउनुभएको छ । आज जनकपुरधाममा आयोजित पुरस्कार वितरण कार्यक्रममा उहाँले संविधानले कार्यकारी राष्ट्रपतिको व्यवस्था नगरेको अवस्थामा राष्ट्रपतिले कार्यकारी झै बन्न खोजेमा राष्ट्रमा अन्योल सिर्जना हुने बताउनु भयो ।
सरकारले आमनिर्वाचन पूर्व नै अध्यादेशमार्फत एकल सङ्क्रमणीय पद्धतिका आधारमा राष्ट्रियसभाको निर्वाचन गराउनुपर्छ भनी राष्ट्रपतिसमक्ष विधेयक पेस गरेको अवस्थामा राष्ट्रपतिको भूमिका संवैधानिक प्रावधान अनुरूप नहुनु चिन्ताको विषय भएको उहाँले बताउनुभयो ।
पूर्वउपप्रधानमन्त्री निधिले सत्ता हस्तान्तरणको बाधक प्रधानमन्त्री नभई संवैधानिक प्रक्रिया हो भन्दै यस यथार्थभन्दा विपरित नेकपा (एमाले)का नेताले भ्रम सिर्जना गरिहेकामा आपत्ति जनाउनुभयो । उहाँले प्रदेश नं २ को राजधानी जनकपुरधाम घोषणा गर्नु पर्नेमा जोड दिनु भयो ।

