प्रदेश सरकार गठन र राष्ट्रियसभा निर्वाचनबारे वाम गठबन्धनद्वारा कार्यदल गठन

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,२५ पुस । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको बालकोटमा झण्डै ४ घण्टा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा पार्टी एकताबारे छलफल भएको हो । बैठकले दुवै दलबाट ३–३ जना सदस्य रहेको ६ सदस्यीय कार्यदल गठन गरेको हो । कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्बाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, बर्षमान पुन र मातृका यादव हुनुहुन्छ । पार्टीमा आवश्यक छलफल गरी कार्यदलले तुरुन्तै काम अघि बढाउने एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिनुभयो ।

यसैबीच,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि भोलि थाइल्याण्डको बैंकक जाँदै हुनुहुन्छ । उहाँ भोलि मध्याह्न साढे १२ बजे थाई एयरवेजबाट बैंकक जानुहुने भएको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्यक्ष ओलीले बैंककस्थित वुङरुगाड अस्पतालमा उपचार गराउनु हुनेछ । मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षणका लागि उहाँ बैंकक जाने गर्नुभएको छ । निर्वाचनको बेला दौडधुपका कारण ओलीको स्वास्थ्यमा परीक्षण गराउनुपर्दछ भनी चिकित्सकको सुझावअनुसार उहाँ बंैकक जानुहुने भएको हो । निर्वाचनअघि नै स्वास्थ्य परीक्षण गराउने चिकित्सकको सल्लाह भए पनि निर्वाचनको कारणले उहाँ जान सक्नुभएको थिएन । स्वास्थ्य परीक्षण गराई उहाँ माघ २ गते स्वदेश फर्कने कार्यक्रम रहेको सचिव ज्ञवालीले जानकारी गराउनुभयो ।