माओवादी मन्त्री फिर्ता,विनाविभागिय भएको अवधिको तलब सुविधा नलिने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,२८ पुस ।नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले आजदेखि सरकार छाडेका छन । पार्टीको निर्णय अनुसार, सरकारबाट फिर्ता हुने अध्यक्ष पुष्पकमल दाहालको पत्र सहित विनाविभागिय मन्त्री गिरिराजमणि पोख्रेलले आज प्रधानमन्त्री देउवालाई भेटी बुझाउनु भएको छ। विना विभागिय मन्त्री भएको ३ महिनापछि माओवादीले हिजो आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएको थियो । । सरकारबाट फिर्ता हुने बारे अध्यक्ष दाहालको पत्रमा ताजा जनादेश अनुसार सरकारबाट काम नभएकोमा असन्तुष्ठी पनि जनाईएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा सत्ता साझेदार बनेर सरकारमा गएको मााओवादीले २०७४ असोज १७ गते एमालेसंग मिलेर वामगठबन्धन बनाई प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन लड्ने घोषणा गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जिम्मेवारी खोसेर विनाविभागीय बनाउनुभएको थियो । बामगठबन्धनको घोषणा संगै आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले पछि निर्वाचन नभएसम्म सरकारमै रहने निर्णय गरेपछि प्रधानमन्त्री देउवाले असोज ३१ गते ९ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विनाविभागिय बनाउनुभएको थियो ।

पोख्रेलले आफुले विनाविभागिय भएको अवधिको तलब सुविधा नलिने बताउनुभयो । उहाँले सबैलाई सो अवधिको तलब सुविधान नलिने भन्ने बारेमा पनि छलफल भईरहेको जानकारी दिनुभयो । राप्रपा अध्यक्ष कमल थापासहित आठजना मन्त्रीलाई नयाँ जिम्मेवारी दिएर प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीलाई विनाविभागीय बनाउनुभएको थियो । माओवादी केन्द्रले उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा जनार्दन शर्मा, टेकबहादुर बस्नेत, गिरिराजमणि पोखरेल, महेन्द्रबहादुर शाही, शिवकुमार मण्डल, आशा कोइराला, सन्तकुमार थारू र प्रभु साहलाई मन्त्री र राज्यमन्त्रीमा मोहमद जाकिर हुसैन, राजसिंह यादव, श्यामकुमार श्रेष्ठ, कर्णबहादुर विक, छमबहादुर गुरुङ, गोमा कुँवर र ओङदी शेर्पालाई सरकारमा पठाएको थियो ।