हिमपात नहुँदा खेतमै सुक्न थाल्यो हिउँदेबाली

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

जुम्ला, ६ माघ । माघ पहिलो सातासम्म हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्न थालेको छ । हिमपात नभई खडेरी बढ्दै जाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् । लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकोले अन्न खेर नफाल्न गरा बाँझो राखेको तिला गाउँपालिका–४ जुम्लाकी स्थानीय महिला रत्नसरा कामीले बताउनुभयो ।

“यो वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन शुरु हुने भए । भोकमरीको समस्या बढ्ने भयो,” चिन्ता व्यक्त गर्दै कामीले भन्नुभयो । खेतीमा निर्भर हामी जस्ता किसानलाई आकाशले अन्याय गरेको उहाँको दुखेसो थियो । यसले गर्दा आम्दानीको स्रोत नभएका तर तीनदेखि छ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ ।

तिला–३ जुम्ला जोगीवाडा गाउँका स्थानीय किसान नरबहादुर रावतले आकाशे पानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमारीको समस्या भोग्नुपरेको दुखेसो गर्नुभयो । जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पु¥याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने हावापानी फिल्ड कार्यालय जुम्लाका प्रमुख एपी चौरासियाले बताउनुभयो ।
मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नै प्रभाव पारेको उहाँको भनाइ छ ।