चितवन, ११ माघ । बाँदरमुढे घटना पीडितको समस्या समाधानसहित राहत एवं क्षतिपूर्तिका लागि गठित समितिले काम थालेको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालको संयोजकत्वमा गठित समस्या समाधान समितिले घटना पीडितको लगत संकलन गर्न थालेको हो । समितिका सदस्य एवं बाँदरमुढे घटनापीडित संघर्ष समितिका अध्यक्ष मुक्तिप्रसाद न्यौपानेले हिजोको विवादलाई थाती राख्दै लगत संकलन थालिएको बताउनुभयो ।
संघ तथा प्रदेशसभा निर्वाचनअघि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पीडितपक्षले गरेको सहमतिअनुसार अहिले लगत संकलनको काम शुरु भएको हो । केही पीडित भने सो सहमतिमा सहभागी भएका थिएनन् । विसं २०६२ जेठ २३ गते दक्षिण चितवनको माडीस्थित बाँदरमुढे खोलामा यात्रुबाहक बसमा भएको बम विस्फोटमा ३८ मृत्यु र ७२ जना घाइते भएका थिए भने उपचारका क्रममा थप चारजना घाइतेको समेत ज्यान गइसकेको छ ।

