चितवन, १३ माघ । डिल्लीबजार कारागारबाट फरार भएका एक अभियुक्तलाई आज साँझ भरतपुरमा प्रहरीले पक्राउ गरेको छ । निजलाई भरतपुर महानगरपालिका–१ रामनगरस्थित ओम साई पेट्रोलपम्प अगाडि जाँचका क्रममा पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार माघ ४ गते डिल्लीबजार कारागारबाट फरार भएका रामेछाप दोरम्बाका २९ वर्षीय टीका थापामगरलाई पक्राउ गरिएको हो ।
ना४७प ५०५२ नंको पल्सर मोटरसाइकलमा आउँदै गरेका उनी र अर्का एक व्यक्तिले प्रहरीलाई देखेपछि फायरिङ गर्दा प्रहरीले छ राउण्ड जवाफी फायरिङ गरेको थियो । थापाका अनुसार मोटरसाइकलमा पछाडि बस्ने व्यक्ति भागेका छन् भने चलाउने थापामगर पक्राउ परेका हुन् । थापामगरको हात र तिघ्रामा गोली लागेको उहाँले बताउनुभयो । उनको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

