काठमाडौं,१७ माघ । काठमाडौं जिल्ला अदालतले अवैध रुपमा चिकित्सकीय अभ्यास गरिरहेका १७ जनालाई ७ दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। आज न्यायाधीश राजेन्द्र नेपालको इजलाशले उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
राजधानीको ठमेलस्थित एपोलो इन्टरनेशनल पोलिक्लिनिक, बौद्धस्थित चाइना ग्रेटवाल हेल्थ सेन्टर, सिविक हस्पिटल ट्राभल मेडिसिन सेन्टर, चाइना पिपुल्स हस्पिटल, चाइनिज डेन्टल हस्पिटल लगायतका अस्पतालमा काम गरिरहेका उनीहरु गत सोमबार पक्राउ परेका थिए।
पक्राउ पर्नेमा चाइना ग्रेटवालका सञ्चालक नारायण तिमल्सिना, लुङ युङचाओ, लुङ गोयुङ, सिविककी प्रतिभा पाण्डे, अस्ट्रेलिय नागरिक सराह एन्ने केम्प, एपोलो पोलिक्लिनिककी सञ्चालक मीनाकुमारी श्रेष्ठ, हुयाङ साओवेन, पान मेई सङ, काई शुसियान, लि लिङहोङ, जेङ सुहवा, लुओ लिमिङ, जियाङ हङ्गेवेई, लिउ जिक्वीन, चाइना पिपुल्स हस्पिटलका जौ जी, वाङ जिङ्लो र चाइना डेन्टलका लि योङमेई रहेका छन्।प्रहरीका अनुसार पक्राउ परेका उनीहरुमध्ये कसैले पनि नेपाल मेडिकल काउन्सिलको अनुमति लिएका छैनन्।

