काठमाण्डौ,१९ माघ ।प्रहरी महानिरीक्षक प्रकाश अर्यालले दरबारमार्गको एक होटलमा भएको बलात्कार प्रकरणमा संलग्नलाई संरक्षण दिएको प्रमाणीत भएमा कसुरदारहरुमाथि कारवाही गर्ने प्रतिवद्धता जनाउनुभएको छ । प्रहरीकै संलग्नतामा बलात्कार प्रकरणमा संलग्न दोषि र पीडीतबीच मिलापत्र हुनु कुनै पनि अवस्थामा उचित नहुने भन्दै उहाँले महिला अस्मिताको विषय कतै पनि मिलापत्रको विषय बनाईनु नहुनेमा जोड दिनुभयो । बिहिबार नवनिर्मित महानगरीय प्रहरी बृत दरबारमार्गको कार्यालय तथा व्यारेक भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दे उहाँले नया बनेको सुन्दर भवनमा असुन्दर काम भएको खबर आउनु सिंगो प्रहरी संगठनको निष्ठा र आचरणमा प्रश्न उठाएको तर्फ गम्भीर बन्न मातहतलाई निर्देशन दिनुभयो । उहाँले मिलापत्रमा संलग्न केही अधिकृत निलम्बन भईसकेको र केही अनुसन्धानकै चरणमा रहेको पनि उल्लेख गर्नुभयो ।
प्रहरी महानिरीक्षक अर्यालले अविचलित भई राज्यले सुम्पेको जिम्मेवारी पुरा गर्न सबै युनिट, मातहतका निकाय उत्तिकै सजग र सर्तक हुनुपर्ने उल्लेख गर्नुभयो । दरबारमार्ग प्रहरी वृतमा गलत काम भएको प्रमाणित भएमा त्यसलाई सुपरिवेक्षण गर्ने माथिल्लो युनिटहरु पनि गलत हुने भन्दै उहाँले जिम्मेवार भएर प्रस्तुत हुन सबैलाई निर्देशन दिनुभयो ।सात करोडको लागतमा नेपाल सरकारको नियमित बजेटद्धारा सो भवन निर्माण गरिएको हो ।

