काठमाडौँ, २३ माघ। सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ को ६ महिनामा विभिन्न १७ जलविद्युत् आयोजनाका प्रवद्र्धकलाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सर्वेक्षण सम्पन्न गरी निर्माणको चरणमा प्रवेश गर्न लागेका ती आयोजनालाई तत्काल वित्तीय व्यवस्थापन गरी काम शुरु गर्ने निर्देशनसहित अनुमति दिइएको हो । अनुमति पाएका अधिकाशं निजी क्षेत्रले निर्माण गर्न लागेका आयोजना हुन् ।
उत्पादन अनुमति पाएका आयोजनाको क्षमता ७४१ मेगावाट रहेको छ । सरकारले हालसम्म कूल १५१ जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र प्रदान गरेको छ । यसरी अनुमतिपत्र दिइएका आयोजनाको क्षमता चार हजार ४३५ मेगावाट रहेको छ ।
ऊर्जा मन्त्रालय मातहतको विद्युत् विकास विभागले जारी गरेको त्यस्तो अनुमतिपत्र पाएका अधिकांश आयोजनाले निर्माण शुरु गरिसकेका छन् । चालु आवमा अनुमतिपत्र पाएका आयोजनामध्ये अधिकांशले एक वर्षभित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने तयारी गरेका छन् ।
विभागका महानिर्देशक नवीनराज सिंहकाअनुसार यसवर्ष कोरियाली लगानी रहने माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाले पनि उत्पादन अनुमतिपत्र लिएको छ । चालु आवमा अनुमतिपत्र लिने सबैभन्दा ठूलो आयोजनाको रुपमा सोही परियोजना रहेको छ । रसुवामा आयोजनास्थल रहेको उक्त आयोजना ‘नेपाल वाटर एण्ड इनर्जी डेभलपमेन्ट कम्पनी’ले प्रवद्र्धन गर्न लागेको छ । सो आयोजनाको क्षमता २१६ मेगावाट रहेको छ ।