एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

टीकापुर, २६ माघ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताउनुभएको छ । आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मात्र रहने बताउनुभयो ।

“२००६ सालमा पुष्पलाल श्रेष्ठले स्थापना गरेको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी थियो । उहाँले आफूहरु र जनताले पनि एउटै कम्युनिष्ट पार्टी कहिले बन्ला भनेर प्रतीक्षारत रहेको बताउनुभयो । उहाँले धेरै पार्टी हुनुभन्दा एउटै पार्टी बनेपछि जनतालाई पनि आफ्ना कुरा राख्न सजिलो हुने धारणा राख्नुभयो ।

नेता नेपालले दुई पार्टीबीच एकताको प्रयास भइरहेको बन्दै अहिले सैद्धान्तिक र संगठनात्मक कस्तो हुने भन्नेमा छलफल चलिरहेको बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले नेताको योग्यता र त्याग, अनुसार नै पार्टी एकतापछि उचित मूल्यांकन भएर जिम्मेवारी दिने बताउनुभयो । उहाँले कसलाई कुनकुन ठाउँमा राख्ने भन्नेमा पनि छलफल भइरहेको बताउनुभयो ।

दुई पार्टीबीचको एकतालाई देशी विदेशी शक्ति भाँड्ने प्रयासमा लागेको भन्दै त्यसतर्फ सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ रहेको थियो ।