ललितपुर, २७ माघ । औपचारिक अध्ययन पूरा गर्न नपाएका नख्खु कारागारका कैदीबन्दीले अहिले औपचारिक शिक्षालाई निरन्तरता दिन थालेका छन्् ।
कारागारमा रहेका कैदीबन्दीमध्ये धेरै विभिन्न तहमा अध्ययन गरिरहेको जेलर टेकबहादुर केसीले बताउनुभयो । पहिले अध्ययन गरिरहेकाहरुले निरन्तरता दिएको तथा लामो समयदेखि पढाइ छाडेकाहरुले समेत अहिले शुरु गरेका छन् । कैदीबन्दी विद्यालय र कलेज तह दुवैमा अध्ययनरत छन् । कारागार प्रशासनले पनि कैदीबन्दीलाई फुर्सदमा बस्नभन्दा सीपमूलक काम र अध्ययनमा लाग्न प्रोत्साहन गर्दै आएको छ ।
कारागारमा रहेका १९ कैदीबन्दी अहिले एसइइ परीक्षाको तयारी गर्दै छन् । प्रवेशिका परीक्षामा वर्षेनी झण्डै यही हाराहारीमा विद्यार्थी संलग्न हुने गरेका छन् । कारागारमा अध्ययन गर्न चाहनेहरुका लागि विद्यालय छ । विभिन्न तहमा अध्ययन गर्नका लागि कारागार प्रशासनले बन्दोबस्त मिलाएको छ । यहाँ रहेका कैदीबन्दी पनि शिक्षक रहेको जेलर केसी बताउनुहुन्छ । कारागारमा झण्डै ८०० कैदीबन्दी छन् ।