कपिलवस्तु, २८ माघ । सिँचाइ मन्त्रालयका सचिव रामानन्द यादवले शुक्रबार साँझ ८ बजे परिवारसहित एकै ठाउँमा खाना खाए । खाना खाएपछि उनको परिवारले यादवलाई विदाइ गरे । त्यो बिदाइ नै उनको जीवनको अन्तिम बिदाइ हुनपुग्यो । परिवारले खुशीका साथ बिदा गरेको १२ घण्टा नपुग्दै यादवको मृत्युको खबर आएपछि कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ डिहवा गाउँ शोकमा डुबेको छ ।
शनिबार बिहान ३ बजेतिर सचिव यादव सवार बा२झ ३१४० नंको गाडी पृथ्वी राजमार्गअन्तर्गत धादिङको सलाङमा त्रिशूली नदीमा खसेर बेपत्ता भएको थियो । बेपत्ता सिँचाइ सचिव यादव मृत भेटिएका छन् । बेपत्ता अन्य दुई जनाको अवस्था भने अझै अज्ञात छ । सचिव यादव ५७ वर्षका थिए ।
माइली छोरी डा रञ्जना यादवको विवाहका लागि सचिव यादव घर आएका थिए । आउने फागुन ११ गते रञ्जनाको विवाह भैरहवाका डा रणधिर यादवसँग गर्ने पक्का भएको थियो । पिता महावीर यादव र माता धन्जावती यादवका तीन भाइ छोरामध्ये सचिव यादव माइला छोरा थिए । यादवका कान्छभाइ बृजाप्रसाद यादवको ५ वर्षपहिले निधन भइसकेको छ भने दाजु छेदीप्रसाद यादव मात्र रहेका छन् । यादवको श्रीमती कमला यादव र तीन छोरी पनि घटना भएको खबर पाएलगत्तै घटनास्थल पुगेका छन । जेठी छोरी नितुको वीरगन्ज विवाह भइसकेको छ ।

