नुवाकोट, १ फागुन ।विदुर नगरपालिका– ११ गेर्खुमा रहेको एनसेल टावरमा गए राति आगजनी भएको छ ।
साविक गेर्खु गाविस–९ डाँडागाउँमा रहेको टावरमा राति १२ बजेतिर अज्ञात समूहले पेट्रोलियम पदार्थ र जुटबोरा प्रयोग गरी आगजनी गरेको नुवाकोट प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिनुभयो ।
आगजनीपछि उक्त टावरमार्फत जोडिँदै आएको एनसेलको फोनसेवा अवरुद्ध भएको छ । आगजनीबाट टावरमा जडान गरिएको कल ‘कनेक्सन’ उपकरण, ब्याट्री, युपिएसलगायत ८० प्रतिशत सामग्रीमा क्षति पुगेको छ । एनसेलको टावर सुरक्षार्थ जिल्लामा रहेका प्राविधिकका अनुसार आगजनीबाट रु १५ लाख बराबरको क्षति पुगेको छ । आगजनी गर्ने समूहको पहिचान यकिन नभए पनि नेकपाका कार्यकर्ताले घटना गराएको हुन सक्ने प्रहरीको अनुमान छ ।
रोल्पा–सोमबार राति माडी गाउँपालिका–६ कोर्चवाङमा शक्तिशाली बम प्रहार गरी एनसेलको टावर क्षतिग्रस्त गराइएको छ । राति करिब १२ बजे बम विस्फोट गराइएको प्रहरीले बताएको छ । बम विस्फोटबाट मिनहीमा रहेको एनसेलको टावरमा क्षति पुगेको प्रहरी निरीक्षक नरबहादुर खड्काले जानकारी दिनुभयो । ठूलो आवाजमा बम विस्फोट भएपछि आफूहरु त्रसित भएको स्थानीयवासीले बताएका छन् ।

