काठमाडौँ ,११ फागुन । रंगहरुको पर्व होली सुरु भएको संकेत स्वरुप आज उपत्यकाको वसन्तपुरमा विधिवत रुपमा चीर लिंगो गाडिएको छ । आज मध्यान्ह १२ बजेको शुभसाइतमा रंगीचंगी कपडाको टुक्रा झुण्डाएर चीर गाडिएको हो ।
शुभसाईतमा चीर गाड्दा हनुमानढोकामा गुरुजूको पल्टनले हर्ष बढाइँ गरी सलामी समेत दिएका थिए । हनुमानढोका दरबारको मूलद्वार अगाडि बीस फिट अग्लो, तीन तले छत्र आकारमा रंगीचंगी कपडाका टुक्रा झुण्डाएर सिंगारिएको चीर फाल्गुन शुक्ल अष्टमीका दिन गाड्ने चलन रहेको छ । चीर गाडेपछि होली विदिवत रुपमा सुरु भएको मानिन्छ । यसवर्ष पहाडी जिल्लामा फागुन १७ गते र तराईमा १८ गते होली पर्व मनाइँदै छ ।

