काठमाण्डौ,१६ फागुन ।गत शनिबार दुबइमा हृदयाघातका कारण मृत्यु भएको भारतीय चलचित्र जगतकी चर्चित अभिनेत्री श्रीदेवीको अाज भारतीय सहर मुम्बइमा अन्त्येष्टि गरिएको छ ।
उहाँको अन्तिम संस्कार अाज अपराह्न चारबजे भएकाे भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएकाे भारत सरकारले जनाएको छ । उहाँ भारतको उच्च पदक मानिने पद्मश्रीबाट सुशोभित हुनुहुन्थ्यो । अपराह्न २ बजेबाट शवयात्रा सुरु भएकाे थियाे।
त्यस अघि उहाँको पार्थिव शरीरलाई भारतीय चलचित्रजगत बलिउडका अभिनेता, अभिनेत्रीहरु, निर्देशक तथा निर्माता र शुभचिन्तकहरुले श्रद्धाञ्जलिको दिएका थिए । त्यसैगरी श्रद्धाञ्जलि दिनका लागि उनका श्रीमानको साथमा चर्चित नायिका माधुरी दीक्षित पनि सुरुमै त्यहाँ पुग्नुभएको थियो ।
श्रद्धाञ्जलि दिन सुवाइ घाई, रेखा, विद्याबालन, तब्बु, अजय देवगण, काजोल, जया बच्चन, ऐश्वर्या राय, करण जोहर, सरोज खान , सुष्मिता सेन, जयाप्रदा, फराह खान, महिमा चौधरी, अक्षय खन्ना, पे्रम चोपडा, आफ्नी छोरी इशा देओलका साथमा अभिनेत्री हेमा मालिनीलगायत सयाँै कलाकर्मी शव राखिएको मुम्बइको एक स्थानीय क्लबमा पुगेका थिए।
चर्चित अभिनेत्री श्रीदेवीको गएको शनिबार राति निधन भएको थियो । संयुक्त अरब इमिरेट्समा आफन्तको वैवाहिक कार्यक्रममा सहभागी हुन गएका बेला शनिबार राति हृदयाघातका कारण उहाँको मृत्यु भएको जनाइएको छ ।
दुबइको अस्पतालले पोस्टमार्टम रिपोर्ट दिन ढिला गरेपछि उहाँको पार्थिव शरीरलाई मङ्गलबार अबेर राति मात्र दुबइबाट मुम्बइ ल्याइएको थियो । मृत्यु स्वभाविक रुपमा भएको होइन भन्दै भारतीय एवम् अन्तर्राष्ट्रिय सञ्चारजगतमा नै आशङ्कासहितका समाचार प्रकाशन प्रशारण भएपछि उहाँको शव परिवारजनलाई जिम्मा लगाउन नै दुबइ अस्पतालले ढिला गरेको बताइएको थियो । सोमबार दुबइ सरकारले बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु दुर्घटनाबस ‘वाथ टव’मा डुबेर भएको जानकारी गराएको छ ।